हाम्रो पालामा दसैँ

लेखक : शिवु सुब्बा

जब गोधेलु साँझमा पश्चिममा घाम अस्ताउदा क्षितिजमा राता प्रकाशका किरणहरू सर्लम्म बेसी सम्म झर्थे । आकाशमा अनकन्टार गुँड फर्किरहेका पञ्चिहरू देखिन्थ्यो, तब यस्तो लाग्थ्यो आहा ! दशैँ आयो । बेसी खेतमा काटेर सुकाइएको धानका न्यानमा र बारीमा झुलेको कोदोको बालाहरुमा सुस्ससुस्त बतास आएर लरबराउन थाल्छ तब यस्तो लाग्छकी दसै आइसक्यो ।

बारिका डिलमा फूल्न लागेको सयपत्री र रेडियोमा लगतार गुन्जिने दशैँको शुभकामनाले गाउँघर दशैमय हुन्छ । पूर्वि पहाडका मध्यम जिल्लाहरूमा कुनै चाँडबाड होस् या भोज मेला, क्यालेन्डरमा उल्लेखित तिथीमितिले भन्दा परिचित मौसमले अनुभुत गराउछ । चैत बैशाखमा बिउँ छर्न चराले सन्देश दिन्छ। बैसाख जेठमा बाँजो जोत्न आकाशे पानीले सन्देश फुक्छ। मंसिर पुषमा बालीनाली उठाउन न्यानो सुरिलो मौसमले सल्लाह दिन्छ। यहाँका बसिन्दा बिहानी कुखुराको भाले सँगै ब्युजन्छन् अनी साँझ पशुपन्छीसँगै निदाउछन् । साँच्चैनै यहाँका बासिन्दाहरू प्रकृतिसँग नजिक भएर बाँचिरहेका छन् ।

म पनि यहीँ पूर्वी पहाडी जिल्लामा हुर्केको एक युवक हुँ । बालक छदा मेरो बाल्यकाल पनि यसरीनै बितेको थियो । यहाँका रहन सहन आफ्नो मौलिकता साँच्चैनै प्रीय लाग्छ ।
हाम्रो पालामा दशैँ आउन अगावै दशैँको सुनौलो रङ्गले गाउँघरमा नयाँ बाहार ल्याउछ । हामीलाई त झन भनिन्थ्यो कि छिमेकी जिल्लामा दशैँ आइसक्यो अब हाम्रो गाउँघरसम्म आइपुग्न दुइचारदिन मात्र बाँकी छ । भन्थे - “काठमाडौँ तिर त दशैँ आइसक्यो अब हाम्रो गाउँमा पनि आइपुगीहाल्छ ।” यसले गर्दा हामी अझ बेसि हौसिन्थ्यौ । हाम्रो तिर दसैँ आउनभन्दा पहिला दसैँको सुनौलो बाहार आउछ । पश्चिमी क्षितिजमा डुब्न लागेको सुरज सदा भन्दा फिक्का र सुमधुर लाग्छ जसको किरण राता राता हुन्छन् । मानौ सुर्यदेवनै रातो रक्तिले रङ्गीएर आफ्नो प्रकास धर्तिमा छोडिरहेका छन् । अझ सानोमा त हामीलाई दसा र दशैँ सँगै आउछ भनिन्थ्यो । दशैँले धेरै प्राणीको रगत चुसेर आफै रातो भएको पनि भनिन्थ्यो । त्यसैले पनि दशैँको छेकमा रुख नचड्नु भिरपखेरामा नहिड्नु लामो दुरिको यात्रा नगर्नु भनिन्थ्यो ।

दशैँ भन्ने बित्तिकै हामी दुइचारओटा कुरामा धेरैनै हर्सीत हुने गर्दथ्यौ । एक, नयाँ कपडा लाउन पाइने भइयो । दोस्रो, पीङ खेल्न पाइने भैइयो । अनि मासु भात खाएर नयाँ कटकटे पाँच दस र बिसको नोट बोकेर ठ्याङठ्याङ पेस्तोल पड्काउदै हिड्नुको आनन्द छुट्टैनै हुन्थ्यो ।
धेरै जसोले दशैमा नयाँ कपडा पाउथे । हामी पनि पकेट पेन नक्कली सुन र चाँदी झुन्डिएको पाइन्ट भनेपछी हुरुक्कै हुन्थ्यौ । कसैकसैले भने दसैँमा स्कुलको ड्रेस पाउथे । बर्षभरी खेतिकिसानी र मजदुरी गरेर जमाको दुइचार पैसाले हाम्रो बाउआमालाई दसैँ काट्न धाउँ धाउँ पर्थ्यो । हामीलाई त के थियो र कसैको कपडा राम्रो देख्यो भने फलानोको जस्तो चाहियो भनेर घरमा जिद्दि गरेर किन्न लागाइन्थ्यो ।
दशैँमा मान्छेले मात्र होइन बाटो घाटो घर पखेरा सबैले काँचुली फेर्थे । घरका डिजाइन कलर र पोतिएको माटोको सुगन्धले बाटोमा हिड्ने बटुवा पनि मोहित हुन्थे भन्दा फरक नपर्ला । हाम्रो तिर दशै आउदैनथ्यो । हामी दशैँलाई बोलाउथ्यौँ । दशैँ फोहोरी अलछ्छिन् सफा सुगर नभएको घरमा आउदैन भन्ने हाम्रो मौलिक मान्यता थियो । त्यसैले पनि होला गाउँघरमा समुहनै भएर दशैँमा गाउँको मूल बाटो र पदयात्रीले पैदल हिड्ने बाटो हामी सबै मिलेर सफा गर्थ्यौ । प्रत्येक घरबाट कम्तिमा एक सदस्या अनिबार्य सामेल हुनु पर्दथ्यो । कुटो, कोदालो, बेल्चा, दाउ खुकुरी, झम्पल आदि बोकेर हामी बाटोघाटो सफा गर्न निस्कन्थ्यौ । दुर दराजका पदयात्री सिकसिको लाग्दो बाटोको झाँडी फाडेर सफा र चिटिक्क पारेको बाटो देखेर औधीँ खुसि हुन्थे ।
बाटोमात्र सफा गरेर कहाँ पुग्थ्योर ? आफ्नो घर पनि त सफा गर्नु पर्थ्यो । बिहान बेलुका घरकै सदस्य मिलेर आँगन खारेर फरकिलो बनाउथ्यौँ । दशैँमा भ्वानी* खेल्ने र तिहारमा देउसिभैलो खेल्नेहरु चिप्लेर नलडुन भनेर खाल्डो गहिरो भागलाई माटोले पुरेर समतल बनाउथ्यौँ । छेउकुनामा उम्रेका झार उखेलेर गाइको गोबरले चिटिक्क पारेर लिप्थ्यौ । त्यहीँ चिटिक्क लिपेको खलालाई देखेर देउसी भैलो भट्याउनेले सुर मिलाएर भन्थे - “खला लिप्नु लतपत देउसेलाई दिनु हतपत”
पूर्वी पहाडको घरको डिजाइन लगभग सबैको एकै खालको हुने गर्छ । माथी त्रिभुज आकारको चुच्चो सिरान तला बिचमा बरण्डा निकालिएको र भुइको अर्को तला गरेर जम्मा तीन तलाको घर प्राय जसोको हुने गर्छ । गाउँघरमा अलि जमिनदार र सम्पतिवालको घरमा झिँगुटी* को छाना हुन्छ । अलि मध्यम बर्गियको भने जस्ताको र न्यून बर्गियको घरमा खरको छानो हुन्छ । पहिला पहिला जसको घरमा टिभीको एन्टिना हुन्थ्यो त्यो घरलाई हुनेखानेको घर भनिन्थ्यो । पछिल्लो समय भने इन्टरनेट जोकोहिको पहुँचमा आइसके पछी भने टिभीको एन्टनाहरु हराएर गए । घर झिँगुटीको होस या जस्ता खरको लिपिने पाटो भने सबैको एकैखाल्को हुन्थ्यो । बाहिरी सबैतिर चुन पोतिन्थ्यो । पेटि र पुछ्छर भागमा भने रातोमाटो पोतिन्थ्यो । भित्री भागमा भित्तामा कमेरो पोतिन्थ्यो भने भुइमा चिम्टे माटो र गाइको गोबरले पोतिन्थ्यो । भित्री भागमा पनि तलको भुइसँग जोडिएको ठाउँमा भने रातोमाटोलेनै पोतिन्थ्यो ।
रातो माटो लिन उराठे जानु पर्थ्यो । दशैँको छेकमा गाउँघरका सबैजसो जम्मा भएर एकबिहानै खाना खाजा पकाएर उराठे लाग्थ्यौँ । चेलिबेटि दाजूभाइ दिदी बहिनी सबै जना भएर चार देखि पाँच घन्टाको बाटो हिडेर बेसी उराठे ओर्लन्थ्यौ । उराठेतिर माटोका बिभिन्न प्रकारहरु देखिन्थ्यो । प्रायजसो उराठेतिर माटोको भाँडा बनाउने कुमालेहरु निवास गर्दथे । हामी माटोको भाँडाहरु बनाएको देखेर चकित पर्थ्यौ ।
उराठे पुगुसकेपछी हामी जस्तै अरु गाउँ ठाउँबाट माटो लिन आएका मान्छेरु गँड रिजर्ब गरेर बसेका हुन्थे । त्यहाँका बासिन्दाहरुले आफ्नो जग्गामा माटो खन्न दिदैनथे । मान्छेहरुले जता पाए त्यतै खाडल बनाएर राखिदिने भएको हुनाले पैरो जाने डरले स्थानियले बाटो नजिक कहीँ गँड बनाउन दिदैनथे । रोड पुगीसको भएको हुनाले ट्र्याक्टर बाट मान्छेले माटो लिएर बेचबिखन पनि गर्दथे । रातो माटोको लागी उराठे नै जान जरुत त थिएन तर त्यहाँको माटोको सुगन्ध र रङ्गको चमक भिन्दै हुन्थ्यो ।
माटो खन्न फेरी त्यती सजिलो पनि हुदैनथ्यो । बरु ढुङ्गा फुटाउन सजिलो होला तर ढुङ्गा सँगै गासिएको चिम्टे रातो माटोमा झम्पलने खप्पै गाडिन्थ्यो । माटो खन्दा खन्दा माटोको खानी गुफा जस्तो बनेको हुन्थ्यो । भित्र बाट दुइतिन जनाले खन्न पर्ने बाहिर बाट अरुले बोरामा भारि लाउनु पर्ने । कैले काहीँ त हुस्सु र झरि पनि सँगै परिरहेको हुन्छ । त्यस्तो बेला खानीमा पसेर खोतल्न खतरा हुन जान्थ्यो । रेडियो समचारमा बर्सेनी माटोले पुरेर मान्छे मरेको खबरहरु पनि आइरहन्थ‍े । सबैजनाले बोक्न सक्ने भारि पुराएर हामी माथी चौतारमा आएर सबैको खाजा खाना बाडेर खान्थ्यौ ।
रातोमाटोले मात्र घर पुरै पोतिन्न थ्यो । भित्री पट्टिको भित्ता पोत्न हामीलाई कमेरो माटोको आवस्यकता पर्दथ्यो । कमेरो माटो माटोहरुमध्ये सबैभन्दा गह्रौँ लाग्ने माटोमा पर्छ । कमेरो माटो हाम्रो लागी अन्य माटोहरु भन्दा दुर्लव माटोमा गनिन्थ्यो । किनभने यो माटो खोलातिर मात्र पाइन्थ्यो । खोलाबाट माटो ल्याउनु अत्याधिक जोखिम हुन जान्थ्यो । धेरैजसो मान्छेहरुले कमेरो माटोको कारण पनि ज्यान गुमाउनु परेको थियो । कमेरो माटो लिन भने हामी पिँगुवा खोल र ढाँडे खोला सम्म जान्थ्यौ । राम्रो माटोको लागी माटोलाई राम्रोसँग धोइपखाली पनि गर्नुपर्छ । कमेरो माटो भने डोकोमा बोकेर ल्याउनु पर्थ्यो । यसको बनावट झन्डै ढुंगाको जस्तो हुन्थ्यो । रातो माटो र कमेरो ल्याइसकेपछी भने लगभग टाडाको काम सकिन्छ । चिम्टे माटो भने घरनजिकै बारितिर बाट ल्याएर पनि काम चल्छ ।
म लिम्बू समुदायबाट भएको हुनाले हामी दशैँमा टिका लाउदैनौ । मैले जन्मेदेखी अहिलेसम्म हाम्रो समुदायमा सेतो टिका पनि लाएको देखेको छैन । बरु मेरो माममघरतिर भने दशैँमा सेतो टिका लागाएर दक्षिणा थाप्ने गरेको देखेको थिए । हाम्रो लागी त दशैँ केबल मासु काटेर खाने रमाइलो नाँचगान गर्ने मात्र हुन्थ्यो ।

हाम्रो दशैँ पहिला पहिला दशैँमा हाम्रोतिर कामीहरु घरमा धन लिएर आउथे औजार तिखार्न । लिम्बूहरुले दशैँ तिहार चाँडबाडमा मासु काट्छन भनेर । दर्जिहरुले टेप लिएर सुब्बाहरुको नापो लिएर जान्थे । घटस्थापना 7 दिन । खस्टी(फूलपातीको अघिल्लो दिन पिङ लाउने झुण्डाउने), सप्तमी(फूलपाती), अस्टमी(भेजो)मासु काट्ने दिन, नवमी(माण)सुब्बाहरुले काट्ने माण फर्सि काट्ने, दशमी(टीका),